नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कार्तिक कृष्ण औँसीका दिन घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदैछ।
लक्ष्मीपूजाका दिन घर, आँगन तथा पसलहरू सफा गरी दीपावलीका साथ लक्ष्मीको पूजा गर्ने परम्परा छ। साँझ घरको मूलढोकादेखि पूजा कोठासम्म दीप प्रज्वलन गरी झिलिमिली बनाइन्छ । घरमा लक्ष्मीको प्रवेश होस् भन्ने विश्वासका साथ मूलढोका र आँगनमा रङ्गोली तथा लक्ष्मीका पाइला बनाउने चलन पनि छ।
यस दिन लक्ष्मी, गणेश र सरस्वतीको पूजा गरी धनधान्य, सुख, शान्ति र समृद्धिको कामना गरिन्छ। घरमा भएका धनसम्पत्ति, गरगहना तथा बहुमूल्य वस्तु राखेर विशेष पूजा गर्ने परम्परा छ।
लक्ष्मीपूजाका अवसरमा घरघरमा सेलरोटी, अर्सा र अनर्सालगायत परिकार बनाउने गरिन्छ। साँझपख बालबालिका तथा युवायुवती समूह बनाएर घरघरमा भैलो खेल्ने परम्परा पनि छ। ‘भैलिनी आयौँ आँगन, गुन्यू चोलो माग्न, हे औँसीको बारो, गाईतिहारो भैलो’ भन्दै भैलो खेल्ने चलनले गाउँघरदेखि सहरबजारसम्म तिहारको रौनक थप्ने गरेको छ।
त्यस्तै केराका थम्बाले घरको मूलद्वार सजाउने, दियो बाल्ने, पटाका पड्काउने तथा विभिन्न रङका बत्ती र फूलझरीले घरआँगन उज्यालो बनाउने गरिन्छ।
लक्ष्मीपूजाको राति माता लक्ष्मी पृथ्वीमा आई घरघरमा बास गरी सुख, शान्ति र समृद्धिको आशीर्वाद दिने धार्मिक विश्वास छ। यही विश्वासका साथ घरको प्रवेशद्वारदेखि भित्री कोठासम्म लक्ष्मीका पाइला बनाउने प्रचलन रहेको छ।
तिहारको यो विशेष दिनले धार्मिक आस्था, पारिवारिक भेटघाट, सांस्कृतिक परम्परा र आपसी सद्भावलाई थप बलियो बनाउने विश्वास गरिन्छ। दीपावलीको उज्यालोसँगै सुख, शान्ति र समृद्धिको कामना गर्दै आज देशभर लक्ष्मीपूजा मनाइँदैछ।











हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प
धनतेरससँगै सुरु भयो तिहार, यसपालि ६ दिन मनाइँदै
बर्खास्तीको निर्णयविरुद्ध पूर्वआईजीपी दानबहादुर कार्की सर्वोच्च अदालतमा
अब कन्टेन्ट क्रिएटर र इन्फ्लुयन्सरलाई पनि पत्रकार आचारसंहिता लागू हुने
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन