सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १३.३ ओभरमै पूरा गर्यो। टोलीको जितमा स्कटल्यान्डका ओपनर जर्ज मुन्सेले विस्फोटक शतकीय इनिङ खेले। उनले ५४ बलमा अविजित १२५ रन बनाए। उनको इनिङमा चौका र छक्काको वर्षा भएको थियो।
मुन्सेलाई अर्का ओपनर बिनोद भण्डारीले उत्कृष्ट साथ दिए। भण्डारीले २७ बलमा अविजित ३० रन बनाए। दुवै ओपनरले पहिलो विकेटका लागि अविजित साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए।
मुन्सेको आक्रामक ब्याटिङका कारण सुदूरपश्चिमले लक्ष्य पछ्याउने क्रममा कुनै दबाब सामना गर्नुपरेन। उनको शतकीय इनिङ नै फाइनलको मुख्य आकर्षण बन्यो। उत्कृष्ट प्रदर्शन गरेका मुन्से प्लेयर अफ द म्याचसमेत घोषित भए।
यसअघि टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले लुम्बिनीलाई निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रनमा रोकेको थियो।
लुम्बिनीका लागि दिलीप नाथले अविजित ३९ रन बनाए। उनले ३१ बलमा तीन छक्का प्रहार गरे। कप्तान रोहित पौडेलले ३१ बलमा ३० रन बनाउँदा निरोशन डिकवेलाले १७ बलमा २८ रन जोडे। अली शेखले १२ बलमा २४ रनको योगदान दिए।
सुदूरपश्चिमका बलरमध्ये स्कट कुगेलेइनले सर्वाधिक दुई विकेट लिए। उनले चार ओभरमा २५ रन खर्चिए। कप्तान दीपेन्द्रसिंह ऐरी, थारिन्दु रत्नायके र हेमन्त धामीले एक–एक विकेट लिए।
लगातार तेस्रो पटक फाइनलमा पुगेको सुदूरपश्चिमले यसपटक भने उपाधि जित्ने सपना पूरा गरेको छ। यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग फाइनलमा पराजित भएको टोली तेस्रो प्रयासमा च्याम्पियन बनेको हो।










एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
भारत ‘ए’सँग नेपाल ३०६ रनले पराजित, २६ रनमै समेटियो नेपाली टोली
एनपीएलमा चितवनलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमको दोस्रो जित
एनपीएलमा जनकपुर बोल्ट्सको शानदार जित, काठमाडौं गोर्खाज ८ विकेटले पराजित
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन