प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् चन्द्रमामा आधारित नेपालको मौलिक समयचक्र र पहिचान भएको बताएका छन्।
नेवार समुदायले हर्षोल्लासपूर्वक मनाउने म्हः पूजाको सांस्कृतिक तथा आध्यात्मिक महत्त्व उल्लेख गर्दै प्रधानमन्त्री शाहले आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँलाई पूजा गर्ने परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउने बताएका छन्।
उनका अनुसार म्हः पूजाको मौलिक परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको संरक्षण गर्दै जातीय एकतालाई थप प्रगाढ बनाएको छ।
प्रधानमन्त्री शाहले यस अवसरमा मनाइने गोवर्धन पूजा तथा हली तिहारको महत्त्व पनि स्मरण गरेका छन्। भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाएको पौराणिक मान्यतासँग जोडिएको यस पर्वमा कृषिकर्मका सहयात्री गोरुलाई पिठो, नुन र बावर खुवाउने तथा हलो, फालीलगायत कृषि औजारको पूजा गर्ने परम्परा रहेको उनले उल्लेख गरेका छन्।
त्यस्तै, भैलो र देउसीका सांस्कृतिक भाका तथा आशीर्वादले छरछिमेकमा आपसी आत्मीयता र सद्भाव बढाउने उनको भनाइ छ।
नेपालीका मौलिक चाडपर्वले आपसी रिसराग बिर्सेर सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री शाहले सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।











दाजुभाइको दीर्घायुको कामना गर्दै आज देशभर भाइटीका मनाइँदै
आज लक्ष्मीपूजा, धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदै
हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प
धनतेरससँगै सुरु भयो तिहार, यसपालि ६ दिन मनाइँदै
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन