विश्वकै चर्चित प्रविधि कम्पनी एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले पदबाट राजीनामा दिएका छन्। व्यक्तिगत सम्बन्धसम्बन्धी विवाद र विभिन्न खुलासापछि कम्पनीको नेतृत्वमा दबाब बढिरहेका बेला उनले बिहीबार राजीनामा दिएका हुन्।
एनभिडियाको सञ्चालक समितिले उनको राजीनामा तत्काल लागू हुने गरी स्वीकृत गरेको छ। हुआङले सीईओसँगै कम्पनीको अध्यक्ष र सञ्चालक समिति सदस्य पदसमेत छाडेका छन्। सन् १९९३ मा स्थापना भएको कम्पनीको नेतृत्व उनले ३३ वर्षसम्म सम्हालेका थिए।
हुआङको स्थानमा कम्पनीकी प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओ नियुक्त गरिएको छ। क्रेसले नयाँ स्थायी प्रमुख कार्यकारी नियुक्त नहुँदासम्म कम्पनीको नेतृत्व सम्हाल्नेछिन्। एनभिडियाले स्थायी सीईओका लागि आन्तरिक तथा बाह्य उम्मेदवार खोज्ने जनाएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हुआङको एक चिनियाँ व्यवसायीसँगको सम्बन्धबारे सार्वजनिक भएका विवरणले विवाद चर्किएको थियो। ती महिलामाथि अमेरिकी अधिकारीहरूले चीनका लागि जासुसी गरेको आशंका गरेको समाचार सार्वजनिक भए पनि उक्त आरोप पुष्टि भएको छैन। हुआङले पनि चीन सरकारका लागि काम गरेकोबारे आफूलाई कुनै जानकारी नभएको बताएका थिए।
यसैबीच, एनभिडियाकै वरिष्ठ कर्मचारीसँग समेत हुआङको सम्बन्ध रहेको अर्को रिपोर्ट सार्वजनिक भएपछि उनीमाथि दबाब थपिएको थियो। उनले यसअघि वैवाहिक सम्बन्धमा बेइमान भएको स्वीकार गर्दै परिवारसँग माफी मागेको विवरणसमेत सार्वजनिक भएको थियो।
विवादपछि एनभिडियाको सञ्चालक समितिले स्वतन्त्र छानबिन प्रक्रिया अघि बढाएको थियो। यद्यपि कम्पनीले राजीनामाको आधिकारिक कारण व्यक्तिगत विवादलाई भने उल्लेख गरेको छैन।
कम्पनीले हार्भे सी. जोन्सलाई सञ्चालक समितिको पहिलो अध्यक्षसमेत नियुक्त गरेको छ। हुआङको बहिर्गमनसँगै विश्वको एआई तथा चिप उद्योगमा एनभिडियाको आगामी नेतृत्व र रणनीतिबारे चासो बढेको छ।











अमेरिकामा ट्रम्पलाई ठूलो राजनीतिक झट्का, दुवै सदनमा डेमोक्रेटिक पार्टीको विजय
पाकिस्तानमा पोलियो अभियानमा खटिएका दुई प्रहरीको गोली हानी हत्या
स्पेनमा भीषण रेल दुर्घटना: दुई हाई-स्पीड ट्रेन ठोक्किँदा ६४ जनाको मृत्यु
भारतमा कक्षा ११ की छात्राको बलात्कारपछि हत्या आरोपित प्रहरी मुठभेडमा मारिए
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन