चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ। निर्वाचनलाई छिटो, व्यवस्थित र प्रविधिमैत्री बनाउन ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भइसकेपछि उनीहरूको नाम र तस्बिर भोटिङ मेसिनमा समावेश गरी मतदान प्रक्रिया सञ्चालन गरिनेछ।
निर्वाचन टोलीले मध्याह्नदेखि मतदान सुरु गर्ने लक्ष्यसहित अन्तिम तयारी तीव्र पारेको छ। मतदाताहरूलाई मतदान प्रक्रियाबारे जानकारी दिन तथा प्रणालीसँग परिचित गराउन नमुना मतदान (मक पोल) का लागि थप पाँच वटा उपकरण छुट्टै व्यवस्था गरिएको प्रमुख केसीले जानकारी दिए।
निर्वाचनमा विभिन्न क्लस्टर तथा खुलातर्फ गरी ४०० भन्दा बढी आकांक्षीले उम्मेदवारी दर्ता गराएका छन्। समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न क्लस्टरगत उम्मेदवारी कायम गरिएकाले मतदातालाई उम्मेदवार छनोट गर्न अपेक्षाकृत बढी समय लाग्न सक्ने अनुमान गरिएको छ।
पहिलो चरणको निर्वाचनमार्फत ९९ जना केन्द्रीय सदस्य चयन गरिनेछ। विद्युतीय प्रणालीमार्फत मतदान हुने भएकाले मतगणना प्रक्रिया अत्यन्त छिटो सम्पन्न हुने र मतदान सकिएको करिब दुई घण्टाभित्रै आधिकारिक नतिजा सार्वजनिक गरिने प्रमुख केसीले बताए।
निर्वाचन आयोगले विद्युतीय मतदान प्रणालीले निर्वाचन प्रक्रियालाई थप पारदर्शी, विश्वसनीय र परिणाममुखी बनाउने विश्वास व्यक्त गरेको छ।
