राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली भारत ‘ए’सँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको छ।
शुक्रबार राति कतारको दोहामा सम्पन्न खेलमा भारत ‘ए’ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११औँ ओभरमै २६ रनमा अलआउट भयो। नेपालको ब्याटिङ निकै कमजोर रहँदा कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। पवन सर्राफले सर्वाधिक ६ रन बनाए।
भारतका प्रिन्स यादवले पाँच विकेट लिए भने हर्षित रानाले चार विकेट हात पारे। शाहबाज अहमदले एक विकेट लिएपछि नेपालको इनिङ्स २६ रनमै समाप्त भयो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारत ‘ए’ले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३३२ रन बनाएको थियो। भारतका लागि कुमार कुशाग्र र कप्तान तिलक वर्माले शतकीय पारी खेले।
कुशाग्रले ११७ रन बनाए भने कप्तान तिलकले १०७ रनको योगदान दिए। त्यस्तै, सूर्यांश सेड्गेले आक्रामक ब्याटिङ गर्दै १४ बलमा अविजित ३६ रन जोडे। ओपनर वैभव सूर्यवंशीले २६ रन बनाएका थिए।
एक समय ४२ रनमा तीन विकेट गुमाएर दबाबमा परेको भारतलाई कुशाग्र र तिलकले उत्कृष्ट साझेदारीमार्फत सम्हाले। उनीहरूले चौथो विकेटका लागि २०६ रनको साझेदारी गर्दै टोलीको स्कोर बलियो बनाए।
भारतको स्कोर २४८ रन पुगेका बेला कुशाग्रलाई ललित राजवंशीले बोल्ड गरे। शतक पूरा गरेका तिलक पनि नन्दन यादवको बलमा आउट भए।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र ललित राजवंशीले समान तीन विकेट लिए। नन्दन यादवले दुई तथा पवन सर्राफले एक विकेट हात पारे।
प्रतियोगिताको पहिलो खेलमा भारत ‘ए’सँग पराजित भएको नेपालले अब दोस्रो खेलमा आइतबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ।










एनपीएलमा चितवनलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमको दोस्रो जित
एनपीएलमा जनकपुर बोल्ट्सको शानदार जित, काठमाडौं गोर्खाज ८ विकेटले पराजित
एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
कलैया क्रिकेट क्लबको अध्यक्षमा अनिल चौगाईं सर्वसम्मत चयन
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन