मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी कात्तिक २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। उनले उक्त दिन दिउँसो १ बजे विश्वासको मत लिने तयारी गरेका हुन्।
प्रदेश सरकारमा सहभागी प्रमुख राजनीतिक दलहरूले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।
मुख्यमन्त्री यादवका अनुसार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक आह्वान गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गर्ने तयारी भइरहेको छ। सरकारलाई आवश्यक समर्थन जुटाउन विभिन्न राजनीतिक दलसँग छलफल र संवादसमेत जारी रहेको उनले बताएका छन्।
नेपाली कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारबाट नेकपा एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए। त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले पनि कात्तिक २० गते राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेका थिए।
दुई दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ। त्यसयता मुख्यमन्त्री यादवले सरकार टिकाउन विभिन्न दलसँग राजनीतिक छलफललाई तीव्रता दिएका छन्।
सरकार जोगाउन ५४ सांसदको समर्थन आवश्यक
१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार टिकाउन मुख्यमन्त्री यादवलाई कम्तीमा ५४ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ।
प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा एमालेका २३, जनता समाजवादी पार्टी (जसपा) नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ जना सदस्य छन्। त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक जना सदस्य रहेका छन्।
हालको राजनीतिक समीकरणमा मुख्यमन्त्री यादवका लागि आवश्यक बहुमत जुटाउनु चुनौतीपूर्ण देखिएको छ। यद्यपि उनले विश्वासको मत प्राप्त गर्न अन्तिम समयसम्म पनि राजनीतिक दलहरूसँग संवाद जारी राख्ने बताएका छन्।
कात्तिक २८ गते हुने विश्वासको मत परीक्षणले मधेश प्रदेश सरकारको आगामी राजनीतिक दिशा तय गर्नेछ।











सरकारको कार्यशैलीप्रति प्रचण्डको असन्तुष्टि, भने– हिन्दी जासुसी फिल्मजस्तै अनिश्चित
मधेश प्रदेश सरकारबाट बाहिरियो नेकपा, चारै मन्त्रीले दिए सामूहिक राजीनामा
सरकार र पार्टीबीच कुनै अन्तरद्वन्द्व छैन : रवि लामिछाने
‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन