यमनको अन्तरिम राजधानी अदनस्थित राष्ट्रपति भवन परिसरमा हुथी विद्रोहीले मिसाइल आक्रमण गर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। मृत्यु हुनेमा प्रधानमन्त्रीका दुई सुरक्षाकर्मीसमेत रहेको बताइएको छ।
यमनका स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार अल–माशिक राष्ट्रपति भवनलाई लक्षित गरी आक्रमण गरिएको हो। आक्रमणका बेला प्रधानमन्त्री र मन्त्रिपरिषद्का केही वरिष्ठ सदस्य भवनभित्रै भए पनि उनीहरू सुरक्षित रहेको सरकारी अधिकारीहरूले बताएका छन्।
हुथी समूहका सैन्य प्रवक्ता याह्या सरीले आक्रमणको जिम्मेवारी लिएका छन्। उनका अनुसार अदनमा रहेको साउदी अरबको सैन्य परिचालन केन्द्रलाई निशाना बनाइएको थियो। प्रत्यक्षदर्शीहरूले आक्रमणपछि शक्तिशाली विस्फोटका आवाज सुनिएको र घटनास्थल आसपास धुवाँ फैलिएको बताएका छन्।
यमनको द्वन्द्वमा साउदी अरब नेतृत्वको गठबन्धनले सरकारी पक्षलाई सहयोग गर्दै आएको छ। पछिल्लो समय हुथी समूहले साउदी अरबका विभिन्न स्थानमा ड्रोन तथा मिसाइल आक्रमण गरेको आरोप लाग्दै आएको छ। साउदी पक्षले पनि हुथीका हतियार भण्डारण र मिसाइल प्रक्षेपण केन्द्रहरूलाई निशाना बनाएको दाबी गरेको छ।
यस घटनाले यमनमा लामो समयदेखि जारी द्वन्द्व थप चर्किने चिन्ता बढाएको छ। सन् २०१४ मा हुथी विद्रोहीले राजधानी साना कब्जा गरेपछि सुरु भएको द्वन्द्वको स्थायी राजनीतिक समाधान अझै हुन सकेको छैन।









टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन