राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न तीन चरणको प्रक्रिया अपनाउने भएको छ। पार्टीले सार्वजनिक गरेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा, २०८३’ अनुसार उम्मेदवार बन्न चाहनेले आवेदन, नेतृत्वसम्बन्धी प्रशिक्षण र मूल्याङ्कन प्रक्रिया पूरा गर्नुपर्नेछ।
रास्वपाका अनुसार उम्मेदवार बन्न नेपाली नागरिक हुनुपर्ने, मनोनयन दर्ताको अन्तिम मितिसम्म २१ वर्ष पूरा भएको हुनुपर्ने र सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ। साथै, आकाङ्क्षी पार्टीको सक्रिय सदस्य हुनुपर्ने र कानुनअनुसार उम्मेदवार बन्न योग्य हुनुपर्नेछ।
उम्मेदवार छनोटको पहिलो चरणमा आकाङ्क्षीले पार्टीको उम्मेदवार क्लबमा आवेदन दिनुपर्नेछ। यस क्रममा व्यक्तिगत विवरण, अनुभव, योग्यता र विशेषज्ञताको जाँच गरिनेछ। दोस्रो चरणमा लिडरसिप एकेडेमीमार्फत स्थानीय शासन, सुशासन, नीति निर्माण, नागरिक सेवा र नेतृत्व क्षमतासम्बन्धी प्रशिक्षण दिइनेछ। तेस्रो चरणमा निर्धारित मापदण्डका आधारमा उम्मेदवारको मूल्याङ्कन गरिनेछ।
मूल्याङ्कन गर्दा उम्मेदवारको सार्वजनिक आचरण, नेतृत्व क्षमता, स्थानीय समुदायसँगको सम्बन्ध, संगठनात्मक क्षमता, जनविश्वास र चुनावमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतालाई आधार बनाइने पार्टीले जनाएको छ। छनोट प्रक्रियामा प्रारम्भिक निर्वाचनबाट प्राप्त मतलाई समेत समावेश गरिनेछ। महिला, युवा तथा विभिन्न सामाजिक र भौगोलिक समुदायको प्रतिनिधित्वलाई पनि ध्यान दिइनेछ।
उम्मेदवार बन्न चाहनेले शैक्षिक प्रमाणपत्र, सम्पत्ति विवरण, प्रहरी चारित्रिक प्रमाणपत्र, आर्थिक कारोबार र कानुनी विवादसम्बन्धी आवश्यक विवरण उपलब्ध गराउनुपर्नेछ। सार्वजनिक आचरण तथा दुर्व्यवहारसम्बन्धी विषयमा समेत स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ।
रास्वपाले यो प्रक्रियामार्फत व्यक्तिगत पहुँच वा नेताको निर्णयभन्दा योग्यता, क्षमता र निर्धारित मापदण्डका आधारमा उम्मेदवार छनोट गर्ने लक्ष्य राखेको जनाएको छ। साथै, निर्वाचित भएपछि स्थानीय तहको जिम्मेवारी प्रभावकारी रूपमा सम्हाल्न सक्ने नेतृत्व तयार पार्ने उद्देश्यले प्रशिक्षण र मूल्याङ्कनलाई पनि छनोट प्रक्रियामा जोडिएको छ।



कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ
कलैयामा दुलदुलघोडा नाच्दै बालक, बाल्यकालमै संघर्ष
साउदीको अरामको भवनमा हुथी विद्रोहीको आक्रमण, ऊर्जा संरचनामा तनाव बढ्दै
ककरोच जनता पार्टीका सौरभ र आशुतोष फेरी पक्राउ
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन