वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित रेनुका पेट्रोल पम्प नजिक आइतबार दिउँसो भएको एक भयावह कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
दिउँसो करिब ३:१० बजे गण्डकबाट बसपार्कतर्फ जाँदै गरेको बीआर ५५ बी ९१०४ नम्बरको भारतीय कार अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवा भट्टका अनुसार उक्त दुर्घटना अत्यन्तै तीव्र गतिमा भएको थियो।
दुर्घटनामा घाइते भएका चारै जनालाई तत्काल बारास्थित एलएस न्युरो अस्पतालमा लगिएको थियो। तर, करिब ३० वर्षीय बिटु सर्राफलाई अस्पतालले दिउँसो ३:५० बजे मृत घोषणा गरेको छ। टाउको, मुख र कानमा गम्भीर चोट लागेका कारण उनको ज्यान गएको चिकित्सकहरूले बताएका छन्।
अन्य घाइतेहरूमा, भारतको बेतिया नरकटियागञ्ज निवासी करिब ४० वर्षीय कार चालक गणेश सर्राफ छन्, जसको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। साथै, २० वर्षीय रतन सर्राफको बायाँ हात र शरीरमा मध्यम चोट लागेको जनाइएको छ।
यस्तै, अर्का घाइते २१ वर्षीय बिटु सर्राफ (रामबाबु सर्राफका छोरा) को दायाँ खुट्टा, छाती र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
घटनास्थलबाट दुर्घटनाग्रस्त कारलाई नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीको भनाइ छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
स्थानीयवासीले सडक सुरक्षामा अझ बढी ध्यान दिनु पर्ने माग गर्दै तीव्र गतिका सवारीसाधनमाथि निगरानी कडाइ गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।