1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

चक्रवातको सम्भावित जोखिम: पाकेको धान भित्र्याउन बाराका किसानलाई आग्रह

१७२पाठक संख्या
२वास्तविक शेयर
१८एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ८ views
समाचार सुन्नुहोस्

चक्रवातको सम्भावित जोखिम: पाकेको धान भित्र्याउन बाराका किसानलाई आग्रह

कलैया । सम्भावित चक्रवात ‘अर्णव’का कारण भारी वर्षा, बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाराले जिल्लावासीलाई सतर्क रहन आग्रह गरेको छ। प्रशासनले कात्तिक ११ गतेभित्र पाकिसकेको धानबाली सुरक्षित रूपमा भित्र्याउन किसानहरूलाई अनुरोध गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले मंगलबार जारी गरेको सूचनाअनुसार कात्तिक १२ देखि १४ गतेसम्म मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। वर्षाका कारण जिल्लाका नदी तथा खोलामा आकस्मिक बाढी आउनुका साथै कटान र डुबान हुन सक्ने जोखिम छ। त्यस्तै, चुरे क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध हुन सक्ने प्रशासनले जनाएको छ।

प्रशासनले नदी किनार, खोल्सा तथा चुरे फेदीमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। वर्षाको समयमा खोला तर्ने, माछा मार्ने, दाउरा संकलन गर्ने तथा नदीमा जोखिमपूर्ण गतिविधि नगर्न पनि अनुरोध गरिएको छ। जोखिमयुक्त सडकमा अनावश्यक यात्रा नगर्न र यात्रा गर्नैपरे सडकको अवस्था बुझेर मात्र अघि बढ्न प्रशासनले सुझाव दिएको छ।

सम्भावित विपद्‌लाई ध्यानमा राख्दै स्थानीय तहलाई उद्धार टोली, स्वयंसेवक र राहत सामग्री तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। जोखिममा रहेका बस्तीका परिवारलाई आवश्यकताअनुसार सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उद्धार टोलीलाई आवश्यक उपकरणसहित तयारी अवस्थामा रहन भनिएको छ। पहिरोका कारण सडक अवरुद्ध भए तत्काल खुलाउन सडक डिभिजन र स्थानीय तहलाई रणनीतिक स्थानमा भारी उपकरण तयारी अवस्थामा राख्नसमेत निर्देशन दिइएको छ।

प्रशासनले बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति तथा बिरामीको सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको छ। सम्भावित जोखिमबाट जोगिन खाद्यान्न, पिउने पानी, औषधि, टर्च र महत्त्वपूर्ण कागजात सुरक्षित राख्न तथा सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचनाभन्दा आधिकारिक निकायबाट जारी सूचनामा विश्वास गर्न पनि अनुरोध गरिएको छ।

आपत्कालीन अवस्थामा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र बाराको १२३४, नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४ तथा बाढीसम्बन्धी जानकारीका लागि टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 ८१ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN