काठमाडौं । नेपाल टेलिकमले घरमा इन्टरनेट प्रयोग गर्ने ग्राहकका लागि वार्षिक ४ हजार ९९९ रुपैयाँमै फाइबर इन्टरनेट प्याकेज उपलब्ध गराएको छ। कम्पनीले ३० एमबीपीएस गतिको यो प्याकेजसहित १००, १५० र २०० एमबीपीएसका नयाँ प्याकेज पनि सार्वजनिक गरेको हो।
नेपाल टेलिकमका अनुसार नयाँ प्याकेज असोज ३० गतेदेखि लागू भएका छन्। यी प्याकेजको अवधि १२ महिना हुनेछ। नयाँ प्याकेज जडान गर्दा ग्राहकले जडान शुल्क पनि तिर्नुपर्ने छैन।
कुन प्याकेजको मूल्य कति?
नेपाल टेलिकमले सार्वजनिक गरेको वार्षिक इन्टरनेट प्याकेजको विवरण यस्तो छ।
३० एमबीपीएस: वार्षिक ४,९९९ रुपैयाँ
१०० एमबीपीएस: वार्षिक ११,४९९ रुपैयाँ
१५० एमबीपीएस: वार्षिक १२,९९९ रुपैयाँ
२०० एमबीपीएस: वार्षिक १६,४९९ रुपैयाँ
३० एमबीपीएसको प्याकेज कम खर्चमा घरमा इन्टरनेट चलाउन चाहने ग्राहकका लागि उपयोगी हुन सक्छ। त्यस्तै, धेरै मोबाइल, ल्यापटप तथा अन्य उपकरणमा एकैपटक इन्टरनेट प्रयोग गर्ने परिवारले बढी गतिको प्याकेज रोज्न सक्छन्।
वाइफाइ ६ प्रविधिसहितको सेवा
नेपाल टेलिकमले यी प्याकेज एनटी फाइबरअन्तर्गतको फाइबर टु द होम (एफटीटीएच) सेवामार्फत उपलब्ध गराएको हो। नयाँ योजनामा वाइफाइ ६ प्रविधिसमेत समावेश गरिएको कम्पनीले जनाएको छ।
नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जारी गरेको विज्ञप्तिअनुसार नयाँ प्याकेज जडान गर्दा ग्राहकबाट जडान शुल्क लिइने छैन।
इन्टरनेट प्रयोगकर्तालाई कस्तो फाइदा?
निजी इन्टरनेट सेवा प्रदायकहरूले सस्तो र कम गतिको इन्टरनेट प्याकेज उपलब्ध नगराउने घोषणा गरेपछि नेपाल टेलिकमको नयाँ योजना आएको हो। यस्तो अवस्थामा वार्षिक ४,९९९ रुपैयाँको प्याकेजले कम बजेटमा घरमा इन्टरनेट चलाउन चाहने ग्राहकलाई विकल्प दिन सक्छ।










टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन