काठमाडौं । बलिउड अभिनेता आयुष्मान खुराना र अभिनेत्री सारा अली खान अभिनीत हिन्दी चलचित्र ‘उड्ता तीर’लाई नेपालमा सार्वजनिक प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्रको आधिकारिक वितरण कम्पनी नेसनल सिने ग्रुपलाई पत्र पठाउँदै फिल्म प्रदर्शनका लागि अनुमति दिन नसकिने जानकारी गराएको हो।
आगामी शुक्रबारदेखि नेपालका सिनेमा घरमा प्रदर्शन गर्ने तयारी गरिएको यो चलचित्रमा चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ८(३) ले निषेध गरेका विषयवस्तु समावेश रहेको मन्त्रालयको श्रव्यदृश्य तथा प्रसारण शाखाले जनाएको छ।
उक्त कानुनी व्यवस्थाअनुसार नेपालको सुरक्षा, शान्ति र व्यवस्था वा मित्रराष्ट्रसँगको सम्बन्धमा असर पार्ने तथा विभिन्न वर्ग वा जातिबीचको सुसम्बन्धमा खलल पुर्याउन सक्ने चलचित्रलाई प्रदर्शन अनुमति दिन नमिल्ने व्यवस्था छ।
कस्तो छ ‘उड्ता तीर’को कथा?
निर्देशक आकाश कौशिकको पहिलो फिचर फिल्म ‘उड्ता तीर’ जासुसी र हास्य विधामा आधारित चलचित्र हो। धर्मा प्रोडक्सन्स र सिख्या इन्टरटेन्मेन्टले संयुक्त रूपमा निर्माण गरेको यस फिल्ममा आयुष्मान खुरानाले पाकिस्तानी जासुस बिलाल अहमदको भूमिका निर्वाह गरेका छन्।
कथाअनुसार बिलाललाई विशेष गोप्य मिसनका लागि भारत पठाइन्छ। तर, अप्रत्याशित दुर्घटनापछि उनको स्मृति हराउँछ। त्यसपछि उनले आफूलाई भारतीय प्रतिआतङ्कवाद अधिकारी ठान्न थाल्छन् र देशभक्तिको भावनासहित घटनाक्रम अघि बढ्छ।
नेपालमा फिल्म प्रतिबन्धित भएपछि यसको प्रदर्शन योजना प्रभावित भएको छ। मन्त्रालयले भने कानुनी व्यवस्थालाई आधार बनाएर प्रदर्शन अनुमति नदिएको जनाएको छ।










टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन