1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
दुई दिन महाअष्टमी

तिथि वृद्धिका कारण दुई दिन महाअष्टमी, आज पनि अष्टमीकै विधिअनुसार पूजा

समाचार सुन्नुहोस्

तिथि वृद्धिका कारण दुई दिन महाअष्टमी, आज पनि अष्टमीकै विधिअनुसार पूजा

यस वर्ष नवरात्रमा अष्टमी तिथि वृद्धि भएपछि महाअष्टमी दुई दिन परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेको पात्रोअनुसार कात्तिक १ गते आइतबार र २ गते सोमबार दुवै दिन महाअष्टमीका धार्मिक विधि गर्नुपर्ने भएको हो।

समितिका पूर्वसदस्य एवं वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार आइतबार गरिएको महाअष्टमीको पूजा तथा अन्य धार्मिक कर्म सोमबार पनि दशैँघर वा पूजाकोठामा दोहोर्‍याउनुपर्नेछ।

नवौँ दिनमा पनि महागौरीको पूजा

नवरात्रको नवौँ दिन भए पनि तिथि वृद्धिका कारण सोमबार नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजा आराधना गर्नुपर्ने धार्मिक विद्वान्हरूको भनाइ छ। महाअष्टमीका अन्य पूजापाठ तथा धार्मिक कर्मसमेत दोहोर्‍याउनुपर्नेछ। यद्यपि, आश्विन शुक्ल अष्टमीको रातमा गरिने कालरात्रि पूजा भने कात्तिक १ गतेकै राति गर्नुपर्ने पात्रोमा उल्लेख छ।

यसैबीच, काठमाडौंस्थित हनुमानढोका दरबारमा राज्यका तर्फबाट गरिने विशेष कालरात्रि पूजा सोमबार राति आयोजना गरिने भएको छ। पञ्चाङ्ग निर्णायक समितिको परामर्श र तलेजु भवानीका पुजारीहरूको परम्पराअनुसार यस्तो निर्णय गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाकी कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिएकी छन्।

दरबारको दशैँघरमा आइतबार महाअष्टमीको सामान्य पूजा सम्पन्न भइसकेको छ भने सोमबार मूल पूजा गर्ने कार्यक्रम रहेको छ। हनुमानढोकामा महाअष्टमीको राति १०८ पशुको बलिसहित विशेष पूजा आराधना गर्ने परम्परा रहँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN