1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

महँगी नियन्त्रण र ठेक्का प्रक्रियाको पारदर्शितामाथि प्रभु साहको प्रश्न

समाचार सुन्नुहोस्

महँगी नियन्त्रण र ठेक्का प्रक्रियाको पारदर्शितामाथि प्रभु साहको प्रश्न

रौतहत । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पेट्रोलियम पदार्थदेखि दैनिक उपभोग्य वस्तुसम्मको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएका छन्। उनले सार्वजनिक खरिद प्रक्रियालाई अनलाइन प्रणालीबाट कागजी प्रक्रियामा फर्काइएको विषयमा पनि प्रश्न उठाउँदै यसले अनियमितता र कमिसनको चलखेल बढाउन सक्ने दाबी गरेका छन्।

रौतहटको कटहरियामा अग्रगामी युवा मोर्चाले दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना कार्यक्रममा सम्बोधन गर्दै साहले महँगीका कारण सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको बताए। उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात र ढुवानी खर्च बढाउने तथा त्यसको असर दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत पर्ने उल्लेख गरे।

नेपालमा पेट्रोलियम पदार्थको मूल्य छिमेकी तथा दक्षिण एसियाली मुलुकको तुलनामा महँगो हुनुको कारण सरकारले स्पष्ट पार्नुपर्ने उनको माग थियो। भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कालगायतका देशको मूल्य निर्धारण तथा कर संरचनासँग तुलना गर्दै उनले प्रश्न गरे, “सार्क राष्ट्रहरूमा तेलको मूल्य सस्तो हुँदा नेपालमा किन महँगो भइरहेको छ? भारतमा १८४ रुपैयाँमा पाइने पेट्रोल नेपालमा १९९ रुपैयाँ किन?”

साहले महँगी नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिँदै मूल्यवृद्धिको भारबाट सर्वसाधारणलाई राहत दिन आवश्यक रहेको बताए।

उनले सार्वजनिक ठेक्का प्रक्रियामा भएको भनिएको परिवर्तनप्रति पनि असन्तुष्टि व्यक्त गरे। अनलाइन प्रणालीमार्फत हुँदै आएको ठेक्का प्रक्रियालाई कागजी प्रक्रियामा फर्काउनु पारदर्शिता र प्रतिस्पर्धाको दृष्टिले उचित नभएको उनको भनाइ थियो।

“कृत्रिम बुद्धिमत्ता र विद्युतीय प्रविधिको युगमा राज्यले अनलाइन सेवा विस्तार गर्नुपर्ने हो कि कागजी प्रक्रियामा फर्किनुपर्ने हो?” भन्दै साहले प्रश्न गरे। विद्युतीय प्रणालीले ठेक्का प्रक्रियालाई पारदर्शी बनाउन, प्रतिस्पर्धा बढाउन र अनियमितता नियन्त्रण गर्न सहयोग पुग्ने उनले बताए।

कागजी प्रक्रियाले कर्मचारी, ठेकेदार र मन्त्रीहरूलाई मनोमानी तथा कमिसनको चलखेल गर्ने अवसर दिन सक्ने आरोप लगाउँदै साहले यसबाट राज्यलाई ठूलो आर्थिक क्षति पुग्न सक्ने दाबी गरे। उनले सार्वजनिक खरिद प्रक्रियालाई पुनः पूर्ण रूपमा विद्युतीय प्रणालीमा सञ्चालन गर्न, सरकारी खर्चको निगरानी बढाउन र सम्भावित अनियमिततामाथि छानबिन गर्न सरकारसँग माग गरे।

महँगी नियन्त्रण, सार्वजनिक खरिदमा पारदर्शिता र भ्रष्टाचार नियन्त्रण जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषय भएको उल्लेख गर्दै उनले सरकारलाई जवाफदेही बनाउन युवाहरूले आवाज उठाउनुपर्ने बताए।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष गोविन्द चौधरी, आम जनता पार्टीकी उपाध्यक्ष समिना हुसेन, महासचिव त्रिभुवन साह, उपमहासचिवहरू सियाराम कुशवाहा, लालबाबु मन्सुरी र रञ्जु साह तथा जनमत पार्टीका नेता रामलाल यादवसहित अग्रगामी मोर्चामा आबद्ध विभिन्न दलका नेताहरूको सहभागिता रहेको आम जनता पार्टीका प्रवक्ता सुभाष साहले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN