स्थानीय फुटबल प्रतिभाको पहिचान र खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले बाराको कोल्हबीमा प्रथम नगर लिग फुटबल प्रतियोगिता सुरु हुँदैछ। नगर खेलकुद विकास समिति कोल्हबीको आयोजनामा सोमबारदेखि प्रतियोगिता सञ्चालन हुन लागेको हो।
कोल्हबी नगरपालिका–१ स्थित मठवा फिल्डमा आयोजना हुने प्रतियोगितामा नगरपालिकाभित्रका नौवटा फुटबल क्लब सहभागी हुनेछन्। प्रतियोगितामार्फत स्थानीय खेलाडीको प्रतिभा प्रस्फुटन गर्ने, खेल कौशल अभिवृद्धि गर्ने तथा नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
नगर खेलकुद विकास समितिका संयोजक शिव चौधरीका अनुसार स्थानीय स्तरमा लुकेर रहेका फुटबल प्रतिभाको पहिचान गरी उनीहरूलाई खेलकुद क्षेत्रमा अगाडि बढाउन प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। आयोजकका अनुसार प्रथम हुने टोलीले ४० हजार रुपैयाँ, दोस्रो हुने टोलीले २० हजार रुपैयाँ र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। विजेता टोलीलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसमेत प्रदान गरिनेछ।
प्रतियोगिता सञ्चालनका लागि कुल ९ लाख ८३ हजार ९५० रुपैयाँ अनुमानित बजेट विनियोजन गरिएको आयोजकले जानकारी दिएको छ। प्रतियोगिताले कोल्हबीको खेलकुद गतिविधिलाई थप सक्रिय बनाउनुका साथै स्थानीय युवामा फुटबलप्रतिको आकर्षण र उत्साह बढाउने अपेक्षा गरिएको छ।
नगर खेलकुद विकास समिति कोल्हबीका संयोजक शिव चौधरीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा अग्रज व्यक्तित्व नन्दलाल चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा समाजसेवी भुवनप्रसाद चौधरी, जोगिन्द्र चौधरी, नेपाल विद्यार्थी संघ बाराका सभापति समीर चौधरीलगायतको उपस्थिति थियो।
आयोजकका अनुसार प्रतियोगिताको उद्घाटन समारोह सोमबार दिउँसो २ बजे मठवा फिल्डमा आयोजना गरिनेछ। खेलप्रेमी, स्थानीयवासी तथा सरोकारवालालाई उद्घाटन समारोहमा सहभागी हुन आयोजकले आग्रह गरेको छ।
नौवटा क्लबको सहभागितामा सञ्चालन हुने यस प्रतियोगिताले स्थानीय फुटबल खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै कोल्हबीमा खेलकुद संस्कृतिको विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ।



सवारी दर्ता, नामसारी र बीमा सेवा लिन सहज, कार्यविधि संशोधन
कलैया–९ का वडाध्यक्ष पुरुषोत्तम सिंह पाण्डेयको निधन, मंगलबार सार्वजनिक शोक बिदा
टिकटकमा शान्ति सुरक्षामा खलल पुग्ने भिडियो पोस्ट गरेको आरोपमा बारा प्रहरीद्वारा बालक नियन्त्रणमा
कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता कायमै, महिलातर्फ प्रतिमा अगाडि

टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन