1KalaiyaOnline.Comतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

सवारी दर्ता, नामसारी र बीमा सेवा लिन सहज, कार्यविधि संशोधन

सवारी दर्ता, नामसारी र बीमा सेवा लिन सहज, कार्यविधि संशोधन

काठमाडौं । सवारीसाधनको दर्ता, नामसारी तथा बीमासम्बन्धी प्रक्रियालाई सहज र सेवाग्राहीमैत्री बनाउन सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरेको छ। नयाँ व्यवस्थाअनुसार अब सवारीधनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि तोकिएका प्रक्रियामार्फत सेवा लिन सकिने भएको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार संशोधित व्यवस्थाले सवारीसाधन खरिदबिक्री तथा दर्तासम्बन्धी काममा सेवाग्राहीले भोग्दै आएका झन्झट कम गर्ने अपेक्षा गरिएको छ।

नयाँ व्यवस्थाअनुसार आधिकारिक डिलरबाट सवारीसाधनको जाँच भइसकेको अवस्थामा त्यसलाई अन्तिम मान्यता दिइनेछ। यसले डिलरबाट जाँच गरिएका सवारीसाधनलाई पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने बाध्यता हटाउनेछ।

त्यस्तै, सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत पनि सवारीसाधन दर्ता तथा नामसारी गर्न सकिने व्यवस्था गरिएको छ। यसका लागि वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, सवारी खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्नेछ।

यसैगरी, सवारीसाधनको बीमा तथा बीमा नवीकरणका लागि सवारीधनी स्वयं उपस्थित हुनुपर्ने बाध्यता पनि हटाइएको छ। संशोधित व्यवस्थाअनुसार सवारीधनीको प्रत्यक्ष उपस्थितिबिनै यी प्रक्रिया अघि बढाउन सकिनेछ।

सवारीसाधन नामसारीका क्रममा आवश्यक बायोमेट्रिक विवरण संकलन गर्न यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा सम्बन्धित कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।

सरकारको यो कदमले सवारीसाधन दर्ता तथा नामसारी प्रक्रियालाई छिटो, सहज र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै यातायात सेवा प्रवाहमा पारदर्शिता बढ्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार