बाराको कलैया उपमहानगरपालिका–४ स्थित अदालत नजिकै सोमबार दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकै परिवारका तीनजना सामान्य घाइते भएका छन्।
प्रहरीका अनुसार कलैयाबाट गन्जभवानिपुरतर्फ जाँदै गरेको प्रदेश २–०३–०१२८ प ९४५० नम्बरको मोटरसाइकललाई, सोही दिशातर्फ जाँदै गरेको ना.५ प. ६२९४ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो।
दुर्घटनामा ना.५ प. ६२९४ नम्बरको मोटरसाइकलमा सवार वीरगञ्ज महानगरपालिका–१८ निवासी ४२ वर्षीय जिउ हुसेनलाई केही नभए पनि, उनकी पत्नी ३५ वर्षीया सहारुन खातुनको टाउको र दाहिने खुट्टामा चोट लागेको छ। त्यस्तै, मोटरसाइकलमै सवार छोरीहरू ४ वर्षीया सदमा खातुनको निधारमा र ६ वर्षीया नगमा खातुनको पेट तथा शरीरमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
तीनै घाइतेको उपचार प्रादेशिक अस्पताल कलैया, बारामा भइरहेको छ। दुर्घटनापछि अस्थायी प्रहरी पोष्ट बसपार्क बाराबाट प्रहरी नायब निरीक्षकको कमान्डमा टोली खटिएको थियो।
यस दुर्घटनामा संलग्न अर्को मोटरसाइकलका चालक कलैया उपमहानगरपालिका–२६ निवासी २५ वर्षीय काशीप्रसाद यादव पनि उपचारमा संलग्न रहेको जानकारी प्रहरीले दिएको छ। दुवै मोटरसाइकल हाल प्रहरीको नियन्त्रणमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।