सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा जिप खस्दा तीन महिलाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन् भने तीन जना अझै बेपत्ता छन्।
प्रहरीका अनुसार काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप आइतबार बिहान करिब २:३० बजे मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको थियो।
दुर्घटनामा ज्यान गुमाउने तीनै जना महिला रहेको प्रहरीले जनाएको छ। उनीहरूको पहिचान भने खुल्न बाँकी छ।
दुर्घटनामा घाइते भएका जिप चालकसहित चार जनालाई उद्धार गरी सुरुमा उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा लगिएको थियो। पछि उनीहरूलाई थप उपचारका लागि सिन्धुली जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा ओखलढुंगाका २९ वर्षीय चालक आशिष बिष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक छन्।
दुर्घटनापछि तीन जना बेपत्ता रहेको चालकले जानकारी गराएका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको छ। गोताखोरसहितको टोलीले समेत खोजी कार्य जारी राखेको छ।
जिप दुर्घटनाको कारणबारे भने अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।










टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन