बडादशैं तथा नवरात्रको आठौँ दिन आज आइतबार नवदुर्गामध्ये आठौँ स्वरूप माता महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। दशैंको यस विशेष दिनमा देशभरका देवी मन्दिर, शक्तिपीठ तथा घरघरमा श्रद्धालुहरूले पूजा गरी देवीको आशीर्वाद लिने परम्परा छ।
वैदिक सनातन परम्पराअनुसार आश्विन शुक्ल अष्टमीका दिन माता महागौरीको पूजा गरिन्छ। धार्मिक मान्यताअनुसार महागौरीलाई श्वेत वस्त्र धारण गरेकी, सेतो वृषभमा सवार तथा शान्त र सौम्य स्वरूपकी देवीका रूपमा वर्णन गरिएको छ। उनको आराधना गर्नाले सुख, शान्ति, समृद्धि र मनोकामना पूरा हुने विश्वास गरिन्छ।
नवरात्रको सुरुवात असोज २५ गते घटस्थापनासँगै भएको थियो। त्यस दिन घरको पूजाकोठा तथा दशैंघरमा विधिपूर्वक जमरा राखेर नवदुर्गाका नौ स्वरूपको पूजा आरम्भ गरिएको थियो।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी र सातौँ दिन कालरात्रिको पूजा गरिएको थियो। आज आठौँ दिन महागौरीको पूजा गरिँदैछ भने नवौँ दिन सिद्धिदात्रीको आराधना गरिने परम्परा छ।
नवरात्रका अवसरमा देवीका मन्दिर तथा शक्तिपीठहरूमा दर्शन र पूजाआजा गर्ने भक्तजनको चहलपहल बढ्ने गर्छ। यस अवधिमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत तथा विभिन्न देवी स्तोत्र पाठ गर्ने चलन पनि छ।
नवरात्रको पूजा सम्पन्न भएपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादस्वरूप टीका र जमरा लगाएर दशैं मनाउने परम्परा छ। नेपाली समाजमा दशैंलाई धार्मिक आस्था, पारिवारिक भेटघाट र आपसी सद्भावको महत्वपूर्ण पर्वका रूपमा लिइन्छ।










टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन