क्यानडालाई ट्रम्पको चेतावनीः चीनसँग व्यापार सम्झौता गरे १०० प्रतिशत भन्सार कर लगाइने

Comments · 269 Views

Trump warns Canada: 100 percent tariff if it makes trade deal with China

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग आर्थिक सहकार्य विस्तार गर्ने क्यानडाको योजनाप्रति कडा आपत्ति जनाउँदै प्रधानमन्त्री मार्क कार्नीलाई चेतावनी दिएका छन् । क्यानडाले चीनसँग व्यापारिक सम्झौता अगाडि बढाए अमेरिकाले क्यानडाली वस्तुमा १०० प्रतिशत भन्सार कर लगाउने ट्रम्पले धम्की दिएका हुन् ।

ट्रम्पले सामाजिक सञ्जाल टुथ सोसलमा कार्नीलाई ‘गभर्नर’ भन्दै टिप्पणी गर्दै चीनले क्यानडालाई अमेरिकामा सामान पठाउने ‘ड्रप अफ पोर्ट’ बनाउने सोच राखेको आरोप लगाए । उनले लेखेका छन,“यदि गभर्नर कार्नीले चीनलाई अमेरिकामा सामान पठाउने बाटोका रूपमा क्यानडालाई प्रयोग गर्न दिने सोचेका छन् भने उनी गम्भीर रूपमा गलत छन् ।”

आफ्नो आलोचनालाई अझ चर्काउँदै ट्रम्पले भने,“चीनले क्यानडालाई पूर्ण रूपमा निल्नेछ—त्यहाँका व्यवसाय, सामाजिक संरचना र जीवनशैली नै नष्ट गर्नेछ । यदि क्यानडाले चीनसँग सम्झौता ग¥यो भने अमेरिकामा आउने सबै क्यानडाली वस्तुमा तुरुन्तै १०० प्रतिशत भन्सार कर लगाइनेछ ।” यसअघि पनि ट्रम्पले क्यानडामाथि आक्रमण गर्दै ग्रीनल्याण्डमाथि प्रस्तावित ‘गोल्डेन डोम’ क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विरोध गरेको आरोप लगाएका थिए । “गोल्डेन डोम क्यानडाको सुरक्षाका लागि समेत उपयोगी हुने थियो,” ट्रम्पले भनेका छन्, “तर क्यानडाले त्यसको विरोध गर्दै चीनसँग व्यापार बढाउने निर्णय ग¥यो, जसले एक वर्षमै क्यानडालाई ‘निल्ने’छ ।”

ट्रम्पका यी अभिव्यक्तिहरू क्यानडाली प्रधानमन्त्री कार्नीको हालैको चीन भ्रमणपछि आएका हुन् । उक्त भ्रमण चीन–क्यानडा आर्थिक सहकार्य पुनर्जीवित गर्ने उद्देश्यले गरिएको थियो। चीन, अमेरिकापछि क्यानडाको दोस्रो ठूलो व्यापारिक साझेदार हो । भ्रमणका क्रममा कार्नीले विश्व आर्थिक मञ्च (डाभोस) मा अमेरिकी तथा पश्चिमा नीतिको आलोचना पनि गरेका थिए ।

चीन भ्रमणका क्रममा दुबै देशबीच केही क्यानडाली कृषि निर्यातमा लाग्ने भन्सार घटाउने, चिनियाँ विद्युतीय सवारी साधनमा कोटा प्रणाली लागू गर्ने लगायतका विषयमा समझदारी बनेको बताइएको छ । यसले क्यानडामा चिनियाँ लगानी बढ्ने सम्भावनासमेत खोल्ने विश्लेषण गरिएको छ ।

करिब एक दशकपछि कुनै क्यानडाली प्रधानमन्त्रीको चीन भ्रमण भएको हो । वार्तालाई दुवै पक्षले बदलिँदो विश्व परिवेशको प्रतिबिम्बका रूपमा व्याख्या गरेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले यसलाई द्विपक्षीय सम्बन्धमा ‘टर्नअराउन्ड’को संकेत भनेका छन् । यसअघि सम्झौताबारे प्रतिक्रिया दिँदै कार्नीले अमेरिकासँगको व्यापारिक तनावतर्फ संकेत गर्दै चीनसँगको संवादलाई ‘पूर्वानुमेय, यथार्थपरक र सम्मानजनक’ भनेका थिए । एएनआई

Comments