आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आज नेपाल क्यानडासँग खेल्दै

Comments · 283 Views

Nepal to play Canada today in preparation for ICC T20 World Cup

आईसीसी टी–२० विश्वकपको तयारीलाई अन्तिम रूप दिने क्रममा नेपाल आज क्यानडासँग अन्तिम अभ्यास खेल खेल्दैछ ।

यूएईलाई सात विकेटले पराजित गर्दै उत्साह बढाएको नेपाली टोली क्यानडाविरुद्ध जित निकाल्दै विश्वकपमा आत्मविश्वाससहित प्रवेश गर्ने लक्ष्यमा छ ।

चेन्नईस्थित एमए चिदम्बरम मैदानमा हुने नेपाल–क्यानडा अभ्यास खेल दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुनेछ । यसअघि मङ्गलबार भएको पहिलो अभ्यास खेलमा यूएईलाई सहजै हराउँदै नेपालले आफ्नो सकरात्मक संकेत दिएको थियो ।

विश्वकपअघि भारत र श्रीलङ्कामा खेलेका अभ्यास खेलबाट अनुभव बटुलेको नेपालले अब क्यानडाविरुद्धको खेललाई अन्तिम परीक्षणका रूपमा लिएको छ ।

नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। समूह ‘सी’ मा परेको नेपालका लागि यो विश्वकप ऐतिहासिक अवसरसमेत हो, जहाँ दुई पटकको विश्व विजेता वेस्ट इन्डिज र एक पटकको विजेता इङ्ल्यान्डजस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। समूहमा स्कटल्यान्ड र इटाली पनि रहेका छन्।

नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग खेल्ने तालिका छ। नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो। समूह चरणका सबै खेल मुम्बईमा हुनेछन्, जहाँ नेपाली टोलीका सबै खेलका टिकट अग्रिम रूपमा बिक्री भइसकेका छन्।

Comments