Jeetpur Bara

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० स्थित एक १४ वर्षिय बालकको शव कुहिएको अवस्थामा फेला परेको छ । फेला परेको शव स्थानीय सहिद हुसेन मिया अंसारीको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

बिहान खेतमा काम गर्न गएकाहरुका लागि खाना लिएर खेतमा जाने क्रममा एक स्थानीय महिलाले उक्त शवलाई देखेर गाउँलेहरुलाई जानकारी गराएका थिए ।

फुलबारीको छेउमा रहेको छाईंमा फालिएको अवस्था भेटिएको उक्त शव लगभग गलिसकेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपक्षिक गौतम मिश्रले जानकारी दिए ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ बस्ने अंसारी फागुन ११ गते देखि हराएको प्रहरीमा निवेदन परेको थियो । प्रहरीले खोज तलास गर्दै आएको तर, बालक फेला नपरेको र शुक्रवार बरामद गरिएको शव सो बालक कै हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले बालकले लगाएको कपडा र चपलबाट अंसारी नै हुन सक्ने अनुमान गरे पनि यस बारे थप अनुसन्धान नभए सम्म केहि भन्न नसकिने बाराका प्रहरी प्रवक्ता मिश्रले जानकारी दिए ।

सो घटना बारे थप अनुसन्धानका लागि कुकुरको प्रयोग गरिने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।