Karnali News

दैलेखको आठबीस नगरपालिका वडा वडा नम्बर ३ निमायलकी एक महिलाले चार छोराछोरी सहित कर्णाली नदीमा हाम्फालेर आत्महत्या गरेकी छन् ।

दुई छोरीको शव सोमबार साँझ भेटिए पनि अन्य तीनजना वेपत्ता छन् ।

वडाअध्यक्ष प्रयागबहादुर शाहीका अनुसार आइतबार दिउँसो निमायलका श्रीमान मानबहादुर बडुवाललाई बजारमा लिन गएकी सुकी बडुवाल आइतबार राती नै घरबाट छोराछोरीसहित निस्किएकी थिइन् । ‘उनी आइतबार राती नै घरबाट निस्किएको थाहा भयो ।

श्रीमान मदिरा सेवन गर्ने गरेका थिए । सायद घर झगडा भएको हुनुपर्छ,’ वडाअध्यक्ष शाहीले भने, ‘साथमा उनले तीन छोरी र एक छोरालाई समेत लगेर गएकी रहिछन् । सोमबार साँझ दुई छोरीको शव फेला परेपछि मात्रै पाँचै जनाले कर्णालीमा हाम्फालेको हामीले थाहा पायौं ।

मध्यपहाडी लोकमार्गको अछाम जोडने पुल भन्दा दुई सय मिटर माथि पाँचै जनाको चप्पल नदी किनारमा भेटिएकाले पाँचै जनाले कर्णालीमा हाम्फालेको बताए ।

दुइ छोरीको शव डोरीले हात बाँधिएको अवस्थामा सोमबार अबेर फेला परेको थियो । बाँकीको खोजी भइरहेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले सोमबार साँझ छोरीहरु १६ वर्षीया कल्पना बडुवाल, १२ वर्षकी सरिता बडुवालको शव फेला परेको जानकारी दिए ।

उनले सुकी बडुवाल र उनको एक छोरा र एक छोरी अहिले पनि वेपत्ता भएको र प्रहरी तथा समूदायले खोजी कार्य जारी राखेको बताए ।

जिल्ला प्रहरी कार्यालय दैलेखबाट डिएसपी अनुपम श्रेष्ठको नेतृत्वमा टोली राकम कर्णाली गएको छ । उनले भने, ‘उनका श्रीमान प्रहरी नियन्त्रणमा छन् । घटना कसरी भयो भन्ने बारेमा अहिले नै भन्न सकिने अवस्था छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ ।’