बारा ट्राफिक प्रहरीद्वारा १९ करोड राजस्व संकलन

प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय, पथलैया बाराले गत आर्थिक वर्ष २०७७/७८ मा १९ करोड रुपैयाँ भन्दा बढी राजस्व उठाएको छ । गत आ.वमा सवारी नियम उल्लंघन गर्नेलाई कारवाही गरेर १९ करोड १६ लाख ३७ हजार रुपैयाँ राजस्व उठाएको हो ।

भारवहन क्षमता भन्दा बढी तौल बोक्ने ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको र त्यसबाट ६९ लाख ८८ हजार रुपैयाँ संकलन भएको प्रदेश नं.२ ट्राफिक प्रहरी कार्यालय, पथलैया बाराका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिएका छन् ।

चालक तथा सर्वसाधारणलाई सवारी सम्बन्धि नियम बारे जानकारी दिन चेतना मूलक कार्यक्रमहरू सञ्चालन गरिएको कार्यालयका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए । बितेको १ वर्षमा आयोजित २ हजार ८ सय यस्ता कार्यक्रममा १ लाख २६ हजार भन्दा बढीको सहभागिता रहेको पनि जैसवारले बताए ।

ट्राफिक प्रहरीले गत आ.वमा १ सय ६ वटा चोरी तथा भन्सार छलीका सवारी साधन पक्राउ गरेर कारवाहीका लागि भन्सार र राजस्व अनुसन्धानको जिम्मा लगाएको छ । चालू आ.व २०७८/०७९ को शुरूआतसँगै यात्रुसँग बढी भाडा असुल्ने सवारी साधन माथि कारवाही तीव्र पारिएको छ । कोरोना महामारीका कारण सवारीसाधन कम चलेको र हालै सरकारले भाडा बढाएको मौका छोपी तोकिएको भन्दा बढी भाडा लिने प्रवृत्ति बढे पछि चेकजाँच तीब्र पारिएको ट्राफिक प्रहरीले बताएको छ ।

प्रदेश ट्राफिकले यही साउन २ र ४ गते गरेको चेकजाँचका क्रममा ३० वटा सवारी साधनले यात्रुसँग तोकिए भन्दा बढी भाडा लिएको भेटिएको प्रहरी नायव उपरीक्षक जैसवारले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया

Leave a reply

KalaiyaOnline.Com
Logo