महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता नगराउने

जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुरले तत्कालै नयाँ पार्टी दर्ता नगराउने भएको छ।आफूहरू अझै पनि जसपा नेपालमै रहेको कारण तत्कालै नयाँ पार्टी दर्ता नगराउने निष्कर्षमा पुगेको हो।

दुई दिन बसेको ठाकुर पक्षको कार्यकारिणी समितिले नयाँ पार्टी दर्ता गर्ने प्रक्रियामा संलग्न हुने बित्तिकै सांसद पद जाने भएकाले तत्काललाई जसपामै सङ्घर्ष गर्ने निष्कर्ष निकालेको हो। सो बैठकमा पार्टी गठन गर्ने वा नगर्ने विषयमा बृहत छलफल भएको बैठकमा सहभागी एक नेताले बताए। निर्वाचन आयोगको आदेशअनुसार नै आफूहरू जसपामै रहेको बैठकले निष्कर्ष निकालेको छ।

पार्टीभित्र विवाद बढ्दै गएपछि अध्यक्ष यादवले गत ४ असारमा आधिकारिकताको दाबीसहित आयोगमा दिएको निवेदनमाथि सोमबार आयोगका प्रमुख आयुक्त दिनेशचन्द्र थपलिया नेतृत्वको पाँच सदस्यीय इजलासले केन्द्रीय कार्यकारिणी समितिका सदस्यको ‘हेड काउन्ट’ (सनाखत) गर्दै बहुमत सदस्य रहेको पक्षलाई आधिकारिकता दिने निर्णय गरेको हो।

निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्य बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो। सनाखतमा ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ जनाले यादव पक्षमा र १६ जनाले ठाकुर पक्षमा हस्ताक्षर गरेका थिए, एकजना तटस्थ बसे। टीकापुर प्रकरणमा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीले आयोगमा उपस्थित भए पनि दुवै पक्षमा हस्ताक्षर गरेनन्। सनाखतपश्चात् आयोगले यादवको पक्षमा बहुमत सदस्य देखिएको भन्दै उनलाई नै आधिकारिकता दिने फैसला गरेको थियो।

तपाइको प्रतिक्रिया

Leave a reply

KalaiyaOnline.Com
Logo