पर्सा जिल्लामा २० गतेसम्म लम्बियो निषेधाज्ञा

पर्सा जिल्लामा जारी निषेधाज्ञाको अवधि पुन : लम्बिएको छ । जिल्लामा बढ्दै गरेको कोरोना भाइरस संक्रमणको चेन ब्रेकका लागि बैशाख १६ गतेदेखि जारी निषेधाज्ञाको अवधि सातौँ पटक थप्दै असार २० गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आइतवार बसेको बैठकले संक्रमण दर घट्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै परिमार्जनसहित निषेधाज्ञा बढाएको डिसिसिएमसीका संयोजक एवम् पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।

बैठकले अत्यावश्यक सेवाका साथै स्वास्थ्य मापदण्डको पालना गरी/गराई स्थानीय तहअनुसार आलोपालो मिलाएर सरकारी, सार्वजनिक एवम् निजि कार्यालय एवम् निकायहरुको सेवा प्रवाह तथा कार्य सञ्चालन गर्ने निर्णय गरेको छ ।

सार्वजनिक यात्रुबाहक सवारी साधनहरु सञ्चालन गर्न नपाईने, वीरगञ्जको इनर्वा नाकाबाहेकका नाकाबाट सिमा वारपारको आवागमन पुर्ण रुपमा बन्द गरिने, होटल तथा रेष्टुरेन्टहरुले होम डेलिभरी एवम् टेक अवेको सेवा मात्रै सञ्चालन गर्न पाइने लगायतका निर्णय गरेको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले बताए ।

त्यसैगरी बैठकले वीरगञ्जस्थित नारायणी अस्पतालबाट प्रवाह हुने ओ.पि.डि. लगायतका नियमित सेवाहरु यथाशिघ्र सञ्चालनमा ल्याउने निर्णय गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. बिरेन्द्र बहादुर प्रधानले जानकारी दिए ।

बैठकमा नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजारा, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, नेपाली कांग्रेस पर्साका सचिब श्याम पटेल, नेकपा माओवादी केन्द्रका छोटेलाल यादव, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बिरेन्द्रराज कडेल लगायतको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया

Leave a reply

KalaiyaOnline.Com
Logo