वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

अवैध रकम असुल्ने पथलैयास्थित चौकीका ११ प्रहरीमाथि अनुसन्धान शुरु

कोभिड-१९ नियन्त्रणका लागि गरिएको निषेधाज्ञालाई रकम असुल्ने अवसरको रुपमा प्रयोग गर्दै आएको बाराको पथलैयास्थित प्रहरी चौकी र प्रदेश ट्राफिक कार्यालयमाथि कारवाही सुरु भएको छ ।

प्रहरी चौकी पथलैयाका इन्चार्ज श्यामबाबु यादवसहिँत त्यहाँ कार्यरत सबै ११ जना प्रहरीलाई जिल्ला झिकाएर घटनाको अनुसन्धान थालिएको हो ।

प्रहरी चौकी पथलैयामा भने ११ जना नयाँ प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन् ।

उनका अनुसार प्रदेश ट्राफिक कार्यालय पथलैयामा केन्द्रिय प्रहरी विभागका टोलीले अनुसन्धान तथा आवश्यक विभागीय कारवाही गर्ने भएको छ ।

राजमार्गको व्यस्त सडकको पथलैया चोकमा नै दुबै प्रहरी कार्यालयले सय मिटरको अन्तरमा चेक पोष्टको बोर्ड राखेर दैनिक सवारीको जाँच हुने गरेको छ ।

अपराध नियन्त्रण, लागुऔषध ओसार पसार, तस्करी नियन्त्रण, हातहतियार लगायतका संवेदनशील विषयको जाँचको जिम्मेवारी छाडेर रकम असुलीमा प्रहरी केन्द्रित भएको गुनाँसो बढेपछि प्रहरीले दुबै कार्यालय माथि छानबिन सुरु गरेको हो ।

निषेधाज्ञाको समयमा पास बिना गुडेका सार्वजनिक यात्रु बससँग दुबै चेक पोष्टले दुई हजार रुपैयाँ सम्म लिने गरेका थिए ।

दुबै चेक पोष्टमा चर्को शुल्क लिए पछि त्यसको भुक्तानी यातायात व्यवायीले सर्वसाधारणबाटै असुल्दा यात्रुले चर्को भाडा दरमा यात्रा गर्नु परेको थियो ।