बारामा वटसावित्री पर्व मनाईदै

बारामा विवाहित हिन्दू महिलाले वटसावित्री पर्व धुमधामका साथ मनाईरहेका छन् । कलैया उपमहानगरपालिका वडा नम्वर ४ स्थित मालपोत कार्यलयको परिसरमा रहेको वरको रुखमा हिन्दु परम्परा अनुसार महिलाहरु पुजा गरेका छन् ।
जेठ औंँसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाईने गरिन्छ । मिथिलामा वटसावित्री पर्वलाई बरसाइत पर्व समेत भन्ने गरिन्छ ।

अघि सत्ययुगमा सती सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासका आधारमा यो पर्व मनाउने गरेको व्रत्तालु पुनम गुप्ताले बताएकी छिन ।

जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर वट वृक्ष (वरको रुख) फेदमा बर्तालु महिलाहरुले सामूहिकरूपमा सावित्रीलाई सम्झँदै व्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गर्दै यो पर्व मनाउने चलन रहेको गुप्ता बताउछिन ।

बर्तालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ। यसपालि भने कोरोना महामारीको डरले निषेधाज्ञाको पालना गर्दै आफनो संस्कृतिको पालना गर्दै तराई भेगका हिन्दु महिलाहरुले वटसावित्री पर्व मनाईरहेका छन् ।

सावित्रीले आफ्नो तपोबलले इष्टदेव रिझाएर मृत्युवरणमा पुगेका आफ्ना पति सत्यवान्लाई जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथामा उल्लेख रहेको छ ।

वरको रुखमा व्रह्मा, विष्णु र महेश सहितका तीनै देवताको बास हुने जनविश्वास अनुसार यो पर्वको सङ्कल्प, पूजाआराधना र समापन पनि वरकै रुख तल सम्पन्न गरिने परम्परा रहेको व्रत्तालुशरु बताउछन ।