वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

कोरोना संक्रमणबाट दुई वडा अध्यक्षको मृत्यु

कोरोना संक्रमणबाट रौतहटको गरुडा नगरपालिकाका दुईजना वडाध्यक्षको मृत्यु भएको छ ।

बिहीबार राति गरुडा नगरपालिका–२ गेडही गुठीका वडाध्यक्ष विष्णुदेव सहनीको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा काठमाडौंको सिटी अस्पतालमा मृत्यु भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्द मुस्ताक आलमले जानकारी दिए ।

कोरोना संक्रमित वडाध्यक्ष सहनी मुटुको समेत बिरामी रहेको तथा उनको बाईपास सर्जरी भएको थियो ।

कोरोना संक्रमण भएर बिरामी भएपछि एक महिनादेखि उनको काठमाडौंमै उपचार हुँदै आएको उनले बताए ।

उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित थिए ।

यसअघि गत जेठ ३ गते गरुडा नगरपालिकाकै वडा नम्बर ७ का अध्यक्ष रामईश्वर राय यादवको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

५५ वर्षीय वडाध्यक्ष यादवको पनि उपचारको क्रममा काठमाडौकै ग्राण्डी अस्पतालमा ज्यान गएको प्रमुख प्रशासकीय अधिकृत आलमको भनाइ छ ।

उनी पनि २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाटै जितेका थिए ।