जेठ २५ गतेबाट ६० देखि ६५ वर्ष उमेर समूहलाई चिनियाँ खोप लगाइने

चीनले अनुदानमा उपलब्ध गराएको कोरोनाभाइरसविरुद्धको १० लाख डोज खोपमध्ये ८ लाख मंगलबार काठमाडौं आइसकेको छ ।

बाँकी दुई लाख डोज खोप मध्ये एक लाख डोज खोप पनि चीनको कुन्मिङबाट हिमालयन एअरलाइन्सको विमानले काठमाडौं ल्याएको छ ।

यस्तै १ लाख डोज खोप बुधबार कुन्मिङबाटै हिमालयन एअरलाइन्सकै विमानले ल्याउनेछ । चीनबाट खोप आएलगत्तै खोप अभियान शुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठ २५ गतेबाट खोप अभियान शुरु गरिने भएको छ ।

जेठ २५ गतेबाट खोप लिन बाँकी ६० देखि ६५ वर्ष उमेर समूहलाई दिइने मन्त्री हृदयश त्रिपाठीले बताए । पाँच दिन भित्र देशभरका सबै जिल्लामा खोप पुर्याइनेछ । यसअघि ६५ वर्ष माथिकालाई ६३ जिल्लामा र १४ जिल्लामा ५५ वर्षमाथिकालाई खोप दिइसकिएको छ ।