वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

कोभिड विरुद्धको लडाईका लागि नारायणी अस्पताललाई ९ करोड ८० लाख

कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले चार अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ।

अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र नाै वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि दुई अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो ।

अर्थ मन्त्रालयले वीरगञ्जस्थित नारायणी अस्पतालका लागि पनि ९ करोड ८० लाख रुपैयाँ दिएको छ । प्रदेश नम्बर २ को सबैभन्दा ठूलो अस्पतालमध्ये रहेको नारायणीलाई पनि मन्त्रालयले उक्त रकम उपलब्ध गराएको छ । अस्पतालमा स्रोत, साधन र जनशक्तिको अभावमा कोरोना संक्रमितहरुको उपचारमा समस्या आएको अस्पताल प्रशासनले बताउँदै आएको छ ।

अस्पतालसँग पर्याप्त अर्थ नहुँदा कयौँ सेवा सुविधाहरु ठप्प रहेका छन् । अर्थ मन्त्रालयले दिएको रकमबाट अस्पतालमा थप सेवाहरु ल्याउँन र बन्द रहेका सेवाहरु पुन: सुचारु गर्न सहयोग मिल्ने विश्वास लिइएको छ ।

यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि एक अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ।

कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीतिअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेको हो।