वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

प्रदेश २ : नामाकरणका लागि ६ र राजधानीका लागि ७ प्रस्ताव दर्ता

प्रदेश २ को नामाकरणका लागि ६ वटा प्रस्ताव दर्ता भएका छन् । सांसदहरूले प्रदेशसभामा दलगत तथा व्यक्तिगत गरी प्रदेशको नामाकरणका लागि ६ र राजधानीका लागि ७ वटा नाम दर्ता गराएका हुन् ।

प्रदेशको नामाकरणका लागि मधेस प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश, जानकी प्रदेश र मध्यमधेस प्रदेश दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

त्यसैगरी राजधानीका लागि जनकपुरधामका पक्षमा ५ वटा र वीरगञ्जका पक्षमा २ वटा प्रस्ताव दर्ता भएको प्रदेशसभाका निमित्त सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

सत्तासीन दल जनता सामाजवादी पार्टी (जसपा) का तर्फबाट सचेतक शैलेन्द्र यादव र नेकपा माओवादी केन्द्रका दलका नेता भरतप्रसाद साहले प्रदेशको नाम मधेस प्रदेश दर्ता गराएका छन् । त्यस्तै नेकपा एमालेका प्रमोदकुमार यादवले जानकी, एमालेकै शारदादेवी थापाले जनक प्रदेश, कांग्रेसका शिवचन्द्र चौधरीले मिथिला भोजपुरा प्रस्ताव दर्ता गराएका छन् ।

त्यसैगरी, कांग्रेसका सांसद राजेश्वरप्रसाद साहले मध्यमधेस प्रदेश प्रस्ताव दर्ता गराएका छन् । उनको प्रस्तावमा सांसदहरू शंकर प्रसाद चौधरी, ओमप्रकाश शर्मा र आशिया देवी थरुनीले समर्थन गरेकी छन् ।

यस्तै, जनकपुरधाम राजधानीका लागि ५ वटा र वीरगञ्जका लागि दुईवटा प्रस्ताव दर्ता भएका छन् ।

कांग्रेसका सांसद राजेश्वर प्रसाद साह र जसपाका सिंगासन साह कलवारले वीरगञ्जलाई राजधानीका रुपमा प्रस्ताव दर्ता गराएका छन् । प्रदेशसभाका अन्य सदस्यहरूले जनकपुरधामलाई स्थायी राजधानीको रुपमा प्रस्ताव दर्ता गराएका छन् ।

नामाकरण र राजधानीका लागि एकभन्दा बढी प्रस्ताव दर्ता भएकाले निर्वाचनबाट यसको टुंगो लगाइनेछ । यद्यपि निर्वाचन कहिले हुने तय नभएको निमित्त सचिव यादवले बताए । भोलि एक बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

प्रदेशसभामा माओवादी केन्द्रका चार जना सांसद बर्खास्तीमा परेपछि १ सय ३ जना सांसद छन् । दुई तिहाइ मतका लागि ६९ सांसदको समर्थन आवश्यक पर्छ । सत्तासीन जसपाका ५५, माओवादीका ७, एमालेका २१, कांग्रेस १९ र नेपाल समाजवादी पार्टीका एक जना सांसद छन् ।