घाँस काट्न गएका ७ बालिका र किशोरी भारतको बिहारमा फेला

जिल्लाको भंगहा नगरपालिकाबाट घाँस काट्न जाँदा बेपत्ता भएका सात बालिका र किशोरी भारतको बिहारमा फेला परेका छन् ।

मंगलबार दिउँसो घाँस काट्न गएका उनीहरु आज भारत बिहारको सीतामढीमा फेला परेका हुन् ।

वेपत्ता भएसँगै प्रहरीले सातै जनाको खोजवीन तिव्र पारेको थियो।

फेला परेका उनीहरुलाई सीतामढीबाट घर ल्याउन लागिएको भंगहाका मेयर संजिव साहले बताए ।

अहिले महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्य, मेयर साह सहितको टोली धर्मपुर बस्ती पुगइसकेको छ ।

‘उनीहरू भारत बिहारको सीतामढीमा फेला परेका छन् । घर ल्याउन लागिएको छ ‘ मेयर साहले भने ।

स्थानीय ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान , १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान दिउँसो घाँस काट्न गएको बेलादेखि बेपत्ता भएका थिए।

अस्मिता पासवान उच्च मावी भंगहामा कक्षा १२ मा अध्ययनरत छिन् ।

यस्तै, रिया र ज्योतिकक्षा – ८ मा , सीमा र नगिना कक्षा ७ मा, अर्चना र रंजन कक्षा ५ मा अध्ययनरत रहेको घरपरिवारले जनाएको छ ।