लागूऔषध सेवन गरेर वीरगञ्जमा श्रीमानले गरे श्रीमतीको घाँटी थिचेर हत्या

वीरगञ्जमा एक भारतीय नागरिकले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

भारत विहार राज्य पूर्वीचम्पारण स्थित रामगढवाको चम्पापुर निवासी ३६ वर्षीय असरफ अन्सारीले लागूऔषध सेवन गरेर आफ्नै २३ वर्षीय श्रीमती मनु थापा क्षेत्रीको आपसी मनमुटावका कारण हत्या गरेका हुन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ तेजारथ टोलस्थित मोहन सापकोटाको घरमा भाडा गरेर बस्दै आएका दम्पति बीच मंगलबार साँझ ६ बजेको करिवमा आपसी मनमुटावका कारण झगडा हुँदा श्रीमतीको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका अनुसार असरफले मनुको घाँटी थिचेर हत्या गरेको पाइएको छ । हत्या गरिनुभन्दा पहिला मनुले समेत लागूऔषध सेवन गरेको प्रहरीले जनाएको छ ।

‘हामी उनीहरुको कोठामा पुग्दा मनुको मृत्यु भइसकेको थियो र असरफ लागूऔषध सेवन गरेर अर्ध अचेत अवस्थामा त्यहीँ लडिरहेका थिए,’ पर्साका प्रहरी नायव उपरीक्षक (डिएसपी) एवम् प्रवक्ता मनोजित कुँवरले भने, ‘त्यसपछि हामीले घटनास्थलको सूक्ष्म तरिकाले निरक्षण गर्दा त्यहाँ झडप भएको जस्तो माहोल थियो । त्यहीँ भएरपनि असरफले नै मनुको हत्या गरेको हुनसक्ने हाम्रो अनुमान छ । मनुको शरीरभरी लागूऔषध सेवन गर्नेहरुले जस्तै ब्लेडले काटीएको थियो । उनलेपनि लागूऔषध लिएको हुनसक्ने हाम्रो अनुमान छ ।’

असरफ र मनुले डेढ वर्षअघि प्रेम विवाह गरेका थिए । दुवैको यो दोस्रो विवाह हो । मृतक मनुको पहिलो श्रीमानबाट साढे ३ वर्षकी छोरी छिन् । केटाले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरी मनुसँग विवाह गरेको डिएसपी कुँवरले बताए ।

असरफ भारतको भएपनि उनको परिवार वीरगञ्जको छपकैयामा बस्दै आएको छ । प्रहरीले मनुको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाईएको जनाएको छ भने असरफलाई गिरफ्तार गरेर अनुसन्धानको प्रक्रिया अगाडी बढाइएको छ ।