भोलि देखी प्रदेश २ का आठवटै जिल्लामा कोरोनाको खोप अभियान शुरू

प्रदेश न २ का आठवटै जिल्लाबाट एकैसाथ कोरोनाविरुद्धको खोप अभियान एकैसाथ शुरू गरिने भएको छ ।

मुख्यमन्त्री लालबाबूराउत गद्दीको अध्यक्षतामा सोमवार सम्पन्न प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले माघ १४ गते २ नम्बर प्रदेशका आठवटै जिल्लाका सदरमुकामस्थित अस्पतालबाट कोरोनाविरुद्धको खोप अभियान शुरू गर्ने निर्णय भएको मुख्यमन्त्रीका सञ्चार सचिवालयले जनाएको छ ।

प्रदेश नं २ मा खोप अभियान सञ्चालनका लागि ३४ हजार भाइल खोप प्राप्त भएको र माघ १३ गतेसम्म सबै जिल्लास्थित स्टोरमा पु–याइ अभियानको तयारीमा रहने निर्देशक विजय झाले जानकारी गराएका छन् ।

वीरगंजस्थित नारायणी केन्द्रीय अस्पतालबाट खोप अभियानको शुभारम्भ मुख्यमन्त्री गद्दीले गर्नेछन् । त्यसैगरी, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधामबाट र सामाजिक विकासमन्त्री नवलकिशोर साहले राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालबाट खोपको शुभारम्भ गर्ने कार्यक्रम तय भइसकेको प्रदेशका स्वास्थ्य निर्देशक विजय झाले जानकारी गराए ।

पहिलो चरणमा कोरोना महामारीविरुद्ध अग्रमोर्चामा खटिरहेका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिने योजना बनाएको प्रदेशका स्वास्थ्य निर्देशक विजय झाले जानकारी गराए ।