वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

मलेसियामा लामो समयदेखि लुकेर बसेका कामदार बैधानिक हुन पाउने

मलेसियामा लामो समयदेखि अबैधानिक भएर बसेका कामदारलाई बैधानिक हुने व्यवस्था त्यहाँको सरकारले मिलाएको छ ।

मलेसिया सरकारले दुई वटा कार्यक्रमको घोषणा गर्दै निश्चित प्रक्रिया पूरा गरेर घर फर्कने वा तोकिएको जरिबाना तिरेर मलेसियामै वैधानिक भइ काम गर्ने सुविधा दिएको हो ।

सामान्य अवस्थामा अवैधानिक रुपमा मलेसियामा बसेका व्यक्तिले मलेसियाको अध्यागमन कानुन अनुसार बढीमा १० हजार मलेसियन रिंगिट अर्थात झण्डै २ लाख ९० हजार रुपैयाँसम्म जरिबाना वा पाँच वर्ष कैद वा दुवै सजाय भोग्नुपर्ने हुन सक्छ ।

तर अहिले पाँच सय रिंगिट मात्र बुझाउँदा बैधानिक भएर घर फर्कने वा काम गर्ने अबसर पाउने ब्यवस्था गरिएको छ । यो व्यवस्था अनुसार घर फर्कन चाहने श्रमिकले आजको विनिमय दर अनुसार १४ हजार ४५९ रुपैयाँ तिरेर स्वदेश फर्कन सक्नेछन् । यो मलेसिया सरकारले दिएको ठूलो अवसर हो ।

अबैधानिक भएर बसेका कामदारले घर फर्कनका लागि यात्र अनुमतिपत्र या पासपोर्टको आधारमा अनलाइन अपोइन्टमेण्ट लिनुपर्छ । ति कागजात नभएमा पनि मलेसियाको क्लाललाम्पुरमा रहेको नेपाली दूतावासमा गएर यात्रा अनुमतिपत्र बनाउनु पर्छ । यात्रा अनुमतिपत्र बनाउनका लागि दूतावासमा नागरिकताको प्रतिलिपि, पुरानो पासपोर्टको प्रतिलिपि, पासपोर्ट साइजको दुई प्रति रंगिन फोटो र १६० मलेसियन रिंगिट दस्तुर तिर्नुपर्छ ।

त्यसपछि आफ्नो अपोइन्टमेन्टको दिन आवश्यक कागजातहरु लिएर आपोइन्टमेन्ट लिएको अध्यागमन कार्यालय जानुपर्छ । मलेसियन सरकारले तोकेको पाँच सय रिंगिट जरिबाना शुल्क तिरेपछि घर फर्कने चेकआउट मेमो लिन सकिन्छ ।

र नेपाल फर्कनका लागि साथमा चेकआउट मेमो, हवाई टिकट र ७२ घण्टा भित्रको कोभिड पीसीआर नेगेटिभ रहेको रिपोर्ट चाहिन्छ । विमानस्थलमा जाँदा सीसीएमसीले परदेशबाट फर्कनेका लागि तोकेको फारम भर्नुपर्छ ।

यसबारेमा थप बुझ्न परेमा मलेसियामा रहेको नेपाली दूतावासको श्रम शाखामा ०३२०२०१८९८, ०३२०२०१८९९ वा ०३२०२०१९०१ मा सम्पर्क गर्न सकिन्छ । दूतावासको हटलाइन नम्बर ०१६२४७२७७७ मा पनि सम्पर्क गरेर आफूलाई आवश्यक सहयोग र जानकारी लिन सकिन्छ ।